|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 19
|
पृ.१९:
"साँच्चै अपशोच लागेको छ त ?" आँखामा आँखा जुधाएर
तिमीले अर्थपूर्ण मुस्कानमा सोध्यौ ।
साच्चै अपशोच लागेको छ त ?... हँ ?... के त्यसो भए...
त्यसो भए मेरो तपस्या निर्रथक थिएन ? मेरा जलन र छटपटि
बेकारमा थिएनन् ?... मुश्किलले तिमीलाई हेर्न सकें । मैले शिर
निहुर्याएँ ।
तर तिमी किन यति बिघ्न अप्रत्यक्ष ? किन यति बिघ्न
घुमाउरो ? किन यति बिघ्न जटिल ?
मैले बिस्तारै तिम्रो गोडादेखि हेर्दै आँखामा पुर्याएँ । बस्,
उही चम्किलो हेराइ ! कुनै कुनाबाट पनि शंका गर्ने साहस गर्न
सकिन्न । उही गम्भिर मुस्कान ! नबुझेर पनि बुझे झै लाग्ने । बुझे
पनि नबुझे झै लाग्ने । तिमी मानौं कुनै नीलो सागर हौ- गहिराइ
जतिसुकै रहस्यमय भएता पनि सुन्दर छ त्यसको निलिमा, मनोहारी
छ त्यसको निलिमा । त्यही निलिमाको दारुण आकर्षणले मलाई
खर्लप्प निलेको छ ।
तर यी क्षणहरू किन उकुसमुकुसपूर्ण ? कुनै दुर्लभ्य प्राप्तिको
प्रतीतिको जटिलताले मलाई थिचेको झै किन भइरहेको छ ? प्राप्ति
पनि कहिलेकाहीं यति यन्त्रणादायक ?
यी पलहरूको गह्रौपना हटाउने चेष्टास्वरूप तिम्रो प्रश्नको
सबभन्दा तटस्थ अर्थ खोजिसकेपछि मैले भनें, "किन ? मैले अपशोच
नमान्नुपर्ने के छ र यसमा ?"
तिमीले पक्कै महसुस गर्यौ यस फटाहा प्रतिप्रश्नमा निहित
चुनौतीलाई । त्यसैले त हाँस्दै तिमीले प्रसंग बदलेका थियौ, कुनै
चतुर कुटनीतिज्ञले झै ।
कति चिप्लिन सकेको होला यो मान्छे !
|
|
<<मुख्य पेज
|
|
|