|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 27
|
पृ.२७:
मैले चाहेको वस्तु प्रेम थियो ? कि त्यसलाई अझ अरु
विशिष्टताहरूले सीमितीकरण गरेपछिको वस्तु थियो ? अथवा कुनै
अपरिभाषित कुरा थियो कि ? त्यो वस्तु जेसुकै होस्, मैले त्यसको
खोजी गर्ने निर्णय गरें ।
मान्छे एउटा विन्दुमा पुगेर विकल्प छान्न निर्विकल्प रूपले
विवश हुँदोरहेछ ।
सोचें, एउटा एक्स्पेरिमेन्ट नै सही । त्यसैले मैले एउटा अन्वेषक
वैज्ञानिकको मानसिकतामा विवाहको निर्णय गरें ।
तर सञ्जी, कुरो छिनेको भोलिपल्टदेखि नै मेरो वैज्ञानिक
विस्तारै मर्दै गयो । म विस्तारै साधकमा परिणत भएँ । मैले मेरो
अपरिचित भावी पतिलाई प्रेम गर्न थालें ।
यद्यपि शुरुमा उसलाई प्रेम गर्न मलाई डर लागेको थियो ।
तर तुरुन्तै मलाई के ज्ञान भयो भने, मलाई डर उसँग होइन, उसको
अपरिचिततासँग लागेको हो । यो ज्ञान पछि उसँग प्रेम गर्न मलाई
डर लागेन ।
लाग्यो, परिचय पछि नै प्रेम हुनुपर्छ भन्ने के छ ? प्रेम पछि
परिचय हुनु पनि त सम्भव छ ।
विवाहको दिनसम्ममा त म उसलाई अग्घोरै माया गर्न
थालिसकेकी थिएँ । बस्, यही क्षणहरू मेरो जीवनका सबभन्दा
सुखमय क्षणहरू थिए शायद । मलाई मेरो अस्तित्वबोध नै हुदैनथ्यो,
म आफूभरि मेरो पति पाउंथें ।
मलाई कहिलेकाँही लाग्छ, आफूलाई हराउनु र त्यहाँ अरुलाई
पाउनु नै त होइन सुखको रहस्य यस संसारमा ?
|
|
<<मुख्य पेज
|
|
|